लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

१०ः ४५ बजेको समयमा कोठामा खाटमै सुतेको अवस्थामा उनलाई मृत भेटिएको हो । गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । स्टाटस लेखेको भोलिपल्ट उनी मृत अवस्थामा भेटिएकी हुन् ।

घटनाबारे अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ । राजु परियार लगायत केही गायकसँग केही गीतमा स्वर दिएकी सुनार विशेष त लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । उनी केही महिना अघि सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित भएकी थिइन् । उनले यसवर्ष केही तीज गीतहरु समेत रेकर्ड गरेको र ती सार्वजनिक हुन बाँकी रहेको सहकर्मीहरू बताउँछन् । उनको मृत्युमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।