काठमाडौं । नुवाकोट घर भएकी शर्मिला बागदास आत्मनिर्भर हुने सपनाले २० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार उडिन् । तीन वर्षको कतार बसाइपछि उनी बिदामा घर आइन् । बिदा सकियो, तीन वर्षका लागि फेरि कतार फर्किन् ।

केही पैसा कमाएपछि विवाह गर्ने योजनाका साथ तीन वर्षको कतार बसाइलाई बिट मार्दै उनी नेपाल आइन् । विवाह गरिन्, जीवन राम्रैगरी चल्यो । सन्तान जन्माइहाल्ने पतिपत्नीले योजना बनाए, तर विवाहको तीन महिनासम्म गर्भ नै बसेन । एक वर्षसम्म गर्भ नबस्नु सामान्य नै भनेर उनी बसिन् ।

वर्ष बढ्दै गए, उनको सामान्य समस्या अब जटिल बन्न लागेको उनले महसुस गरिन् । घरमा पनि उनलाई हेर्ने दृष्टिकोण बदलिंदै जान थाल्यो । गर्भवती हुने चाहनाले उनले औषधि उपचार मात्र होइन झारफुकसम्म पनि गरेर हेरिन्, तर गर्भ बस्न सकेन । उपचारकै लागि पैसाको अभावले निराश हुँदै गत वर्षको मंसिरमा उनी पुनः कतार नै गइन् ।

कति पटक प्रयास गर्दा पनि गर्भ बस्न सकेन, पैसा पनि सकियो । अब पैसा जम्मा गरेर राम्रो अस्पातलमा देखाउँछु त्यसैले फर्किएँ,’ उनी भन्छिन् ।

नवलपरासीकी ३३ वर्षीया सीता गुरुङ (नाम परिवर्तन)ले घरको आर्थिक स्थिति कमजोर भएकाले माध्यमिक तहसम्मको नै पढाइ पूरा गर्न पाइनन् । कमजोर आर्थिक अवस्थाले उनले वैदेशिक रोजगारीको बाटो समाइन् । २०६४ सालमा उनले वास्तविक उमेर भन्दा केही उमेर बढाएर नागरिकता बनाइन् । धन कमाउने सपना बोक्दै उनी खाडी मुलुक ओमान उडिन् । त्यहाँ तीन वर्ष काम गरेपछि नेपाल फर्किइन् ।

घर फर्केको एक वर्षपछि कमाएको पैसा सकिंदै गयो । बढ्दो महंगीले खर्च धान्न हम्मे परेपछि उनले फेरि विदेश जाने निर्णय गरिन् । तीन वर्षको भिसामा उनी कतार गइन् । कतारको कमाइ राम्रोे थियो । भिसाको अवधि सकिएपछि उनी घर फर्किइन्, त्यसपछि विदेश नजाने सोच बनाइन् । विवाह गरेर घर बसाउने निर्णय गरिन्, विवाह गरिन् । तर विवाह गरेको पाँच वर्ष भइसके पनि सन्तान हुन सकेको छैन । उनी यो समस्याको उपचारमा दौडधुप गरिरहेकी छन् ।

यी प्रतिनिधि पात्र मात्र हुन् । वैदेशिक रोजगारले अधिकांश नेपालीको गर्जो टरेको छ । नेपाली महिला वैधानिक तवरले वैदेशिक रोजगारीमा जान थालेको एक दशक भन्दा बढी भइसक्यो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११ हजार ४५६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । पछिल्लो समय भने कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा महिलाको संख्या केही घटेको देखिन्छ । साथै, सरकारले २०७२ सालदेखि घरेलु कामका लागि विदेश जान निषेध गरेकाले पनि वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा कमी आएको हुनसक्छ ।

नेपाली महिलाको मुख्य रोजगार गन्तव्य खाडी मुलुक नै हुन् । जहाँको जीवनशैली र हावापानी नेपालको भन्दा निकै भिन्न छ । जसका कारण विभिन्न स्वास्थ्य समस्या पनि देखिइरहेका छन् । जसमध्ये एउटा बाँझोपन अर्थात् प्रजनन् क्षमतामा कमीको समस्या पनि हुनसक्ने स्त्रीरोग विशेषज्ञ डा. श्वेता सिंह बताउँछिन् ।

वैदेशिक रोजगारीमा सबैको काम एकनासको हुँदैन । मौसम पनि भिन्न । जलवायु परिवर्तनले पनि यस्तो समस्या हुनसक्छ,’ उनी भन्छिन्, ‘वैदेशिक रोजगारीमा गएका महिलाले कडा परिश्रम गर्नुपर्छ, काम गर्ने अवधि पनि लामो हुन्छ । शरीरको क्षमता भन्दा बढी समयसम्म काम र तनावले गर्दा यो समस्या देखिन सक्छ ।’

आधुनिकतालाई पछ्याउने नाममा शरीरलाई बेफाइदा गर्ने कुराको प्रयोगले पनि प्रजनन् सम्बन्धी समस्या निम्त्याइरहेको डा. सिंहको बुझाइ छ । आधुनिक बन्ने लहडमा रक्सी– चुरोट सेवन गर्ने, अबेर रातिसम्म मोबाइल वा कम्प्युटरमा झुण्डिने लगायतका समस्याले पनि प्रजनन् क्षमतालाई कमजोर बनाउँदै लगेको छ ।

वैदेशिक रोजगारीमा जाने महिलमा प्रजनन् क्षमताको समस्या आउनुमा उमेर पनि कारण हुनसक्ने डा. सिंह बताउँछिन् । ‘उमेर रहुञ्जेल कमाउने र आर्थिक अवस्था सृदृढ बनाउने योजनाले पनि महिलाले ढिलो विवाह गर्ने चलन बढेको छ । वैदेशिक रोजगारीमा जाने महिलामा यस्तो अझ बढी देखिन्छ,’ उनी भन्छिन्, ‘सामान्यतया महिलाको पहिलो गर्भधारणका लागि उपयुक्त समय ३० वर्षमुनि हो । तर यसलाई ख्यालमा राखेको पाइँदैन ।’

३५ वर्षको उमेरपछि डिम्बासयमा अण्डाको गुणस्तर कम हुँदै जाने भएकाले प्रजनन् क्षमतामा असर गर्ने देखिएको छ ।

डा. सिंह भन्छिन्, ‘जुन कारणले भए पनि समस्या त सिर्जना भइहाल्यो । पछिल्लो समय नयाँ–नयाँ प्रविधि भित्रिएका छन्, कतिपय अवस्था प्राकृतिक विधिबाट गर्भ रहन नसक्ने अवस्था हुँदा ती विकल्पहरुमा जान सकिन्छ ।’