वीरगञ्ज – नापी कार्यालय पर्साबाट एक जना बिचौलियालाई पर्सा प्रहरीले घुससहित पक्राउ गरेको छ। प्रहरीले नापी कार्यालयमा सेवाग्राहीबाट लिएको घुससहित वीरगञ्ज निवासी दिनेश पाण्डे भनिने उमा पाण्डेलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनले सेवाग्राहीलाई लालपुर्जा उपलब्ध गराइदिने भनि घुस रकम माग गरेका थिए। घुसबापतको रकम सेवाग्राहीले पाण्डेलाई दिएपछि पुगेको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो। विगत तीन महिनादेखि उनले एक सेवाग्राहीलाई लालपुर्जा दिलाइदिने भन्दै झुलाउँदै आएका थिए।

नापी कार्यालयमै पक्राउ परेका सरकारी पोशाकमै रहेका पाण्डेले आफू कार्यालयको कर्मचारी भएको बताउँदै सेवाग्राहीलाई ठग्दै आएका थिए।

घुसबापतको रकम बिचौलिया पाणडेले एभरेष्ट बैंकबाट सेवाग्राहीलाई निकाल्न लगाएर बैंकमै पुगी लिएका थिए। घुससहित बिचौलिया पक्राउ परेपछि नापी कार्यालयले तीन महिनादेखि नदिएको लालपुर्जा सेवाग्राहीलाई पाँच मिनेटमा नै दिएको थियो। घुससहित पक्राउ परेका उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।