काठमाडौं, असार ७ –

काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर काभ्रे घर भएका एकजना युवकले सुन र नगद लुटेका छन् । जेठ २९ मा बेलुका काभ्रेको तेमाल गाउँपालिका-९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीय युवतीलाई बलात्कार गरेका हुन् ।

आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ईमोमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

पूर्वयोजना अनुसार आरोपीले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोवाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोवाइल समेत लिएर उनी भागेको एसपी मैनालीले जानकारी दिए । जाहेरी परेपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण र शारीरिक परीक्षण गराएको थियो।

‘प्रहरीसँग ती पुरूषको हुलिया, नाम, ठेगाना केही पनि थिएन। गेष्टहाउसमा पनि महिलाकै परिचयपत्र, मोबाइल नम्बर राखेर डाटा इन्ट्री गरिएको थियो’, मैनालीले भने,‘अनुसन्धान गर्न प्रहरीसँग सूचना शून्य जस्तै थियो। तर विभिन्न तरिकाबाट अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्यो।’

अनुसन्धानका विविध पाटा केलाउँदै पीडकसम्म प्रहरी पुगेको मैनालीले बताए। ‘हामीले अनुसन्धानका विविध विधि र प्रविधिमार्फत अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्न आयो,’ मैनालीले भने।

यसै क्रममा प्रहरी वृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले भोटे भन्ने तामाङलाई आइतबार राति ११ बजे पक्राउ गरेको हो। तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय २१९ को जबरजस्ती करणी गर्न नहुने र परिच्छेद-२० को देहाय २४१ को चोरी गर्न नहुने कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।