काठमाडौं – सक्रिय पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेको निर्वाचन क्षेत्र लगभग फिक्स भएको छ । मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्नु अगाबै आज भएको कांग्रेस संगको भेटघाटमा कांग्रेसले मन्त्री बनाउने आस्वासन दिएपछि उनको मन बदलिएको हो ।

आधिकारिक रुपमा रबि आफैले मुख नखोलेपनी काङ्ग्रेस संगको भेटघाट र उसले दिएको अफरले रबि आकर्सित हुनसक्ने चर्चा गरिएको छ। उनले काठमाडौंबाट प्रतिनिधिसभा चुनाव लड्ने निश्चित भए पनि कसरी लड्ने भन्ने निधो भइसकेको छैन ।

अहिले क्रियाशील पार्टीमा लाग्ने, नयाँ पार्टी खोल्ने वा स्वतन्त्र निर्वाचन लड्ने तीन विकल्प रविसँग छन् । निकटस्थहरुसँग रविले असार ७ गतेको कार्यक्रमबाटै आफ्नो राजनीतिक यात्राको प्रारुप सार्वजनिक गर्ने बताउँदै आएका छन् । यसबीचमा उनले विभिन्न दलका नेता, पेशाकर्मी, सामाजिक अभियन्तालगायतसँग छलफल गरिरहेका छन् ।

रविले आफूलाई धेरै पार्टीहरुले अफर गरिरहेको बताएका छन् । खासगरी नेपाली कांग्रेस र राप्रपाका नेताहरुसँग उनी सघन संवादमा रहेको छन् ।

नेपाली कांग्रेसका केही नेताहरुले रविसँग विभिन्न चरणमा छलफल गरेका छन् । रविले वचन नदिए पनि कांग्रेसले उनलाई ‘सांसद हुँदै मन्त्री बनाउनेसम्म’ को प्रस्ताव गरेको स्रोतले बतायो ।

विश्वस्त स्रोतका अनुसार कांग्रेसले रविको सार्वजनिक व्यक्तित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धताका आधारमा यस्तो प्रस्ताव गरेको हो । ‘सार्वजनिक जीवनमा महत्वपूर्ण काम गरेका र समाजमा छवि निर्माण गरेका व्यक्तित्वहरुलाई मूलधारको पार्टीले महत्व दिनुपर्छ । त्यसैले कांग्रेसको शीर्ष तहमै छलफल गरेर हामीले उहाँसँग प्रारम्भिक छलफल गरेका छौं’, एक कांग्रेस नेताले भने ।

ती नेताका अनुसार रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ । रविले ‘काम गर्ने भूमिका’ खोजेको निष्कर्षसहित मन्त्री नै बनाउनेसम्मको प्रतिबद्धता जनाउन कांग्रेसका केही शीर्ष नेता सकारात्मक देखिन्छन् ।

‘काठमाडौंको २ नम्बर क्षेत्रमा सांसदको उम्मेदवार बनाउने र जितेपछि मन्त्री बनाउने प्रस्ताव कांग्रेसका केही नेताहरुले राख्नुभएको छ । अहिले नै उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन’, रवि निकट स्रोतले भन्यो ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । यसपटक नेपाल रौतहटबाट निर्वाचन लड्ने सम्भावना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गरेका थिए ।