जिन्दगीको ताल र सुर मिलेन भने दिमागको तारले काम गर्दैन । काम गर्न नसक्ने हालतमा पुगेको दिमागी तारमा झमेला र बोझ थपियो भने बिजुलीको तारमा चढ्न मन लाग्छ । तल झारमा समातेर वारपार गर्दासम्म मान्छेले मान्छेलाई झारपातसम्म गन्दैन । तर तारमा चढी तारै समातेर दिउँसै आकाशका तारा र तलतिर खेतबारी र भित्ताका गारा गन्न थालेपछि भने संसारै हल्लिन्छ । परिवार र वरपरका मान्छे त हल्लिने भै हाले, सरकारको दिमागको तार पनि हल्लिन्छ । तार नचढ्दासम्म रौँसमेत हल्लिन नसक्ने शक्ति तारमा चढेपछि त्यसैत्यसै बिउँतिन्छ । तारमा चढ्नेबित्तिकै संसार नै हलचल हुने गरी वारको पारसम्म छचल्किन्छ ।

तपाईँलाई पनि तारमा चढेर एकपटक देश दुनियाँ हल्लाउन मन छ भने एकपटक दिमागको तारमा विचारका भार थप्नुहोस् । महँगीको मारदेखि चारतिरका विचार र भारले टाउकोको तार बिजुलीको तार हल्लाउन सक्ने गरी खलबलिएको हुनसक्छ ।

सबैभन्दा पहिले आफ्नो कमाइ र खर्चको हरहिसाब गर्नुहोस् । तलबको अङ्क हेर्न सुक्ष्मदर्शक यन्त्र नै चाहिने भैसक्यो, खर्चको आकार चाहिँ दुईवटा आँखाले दुई दिनसम्म हेर्दासमेत नभ्याइने गरी बढेको बढ्यै छ । अलि अस्तिताकासम्म कराईमा हाल्ने खाने तेल र गाडीमा हाल्ने खानीको तेलको मात्र भाउ बढेको थियो । अहिले त गाडीको ट्याङ्की, भातको कुकर र तरकारीको कराई हुँदै चियाको गिलाससम्म महँगीले भरिभराउ भैसक्यो । चिनीको भाउ मुख तीतो हुनेगरी बढ्यो । तिहारमा सेल पकाउने चलन नै हटाउनुपर्ने गरी खाने तेल महँगियो । टन्न धन भएकाले मात्रै गाडी चढ्न सक्ने गरी इन्धनको भाउ आकाशियो । आम्दानी खुम्चेको खुम्च्यै, तर खर्च गर्ने ठाउँ र मूल्य चाहिँ बढेको बढ्यै । तल भुइँमा बसेर गुजारा चलाउनै धौ धौ हुने भएपछि तपाईंलाई आकाशतिर फर्केर बिजुलीको तारमा हिँडौँ हिँडौँ लागेन ?

भुइँको जग्गा बाँझो राखेमा जरिबाना तिर्नुपर्ने रे । बाँझो जमिन खन्न त हातपाखुरा बलिया भएका मान्छे गाउँमा हुनुपर्यो नि । खुट्टा लागेका युवायुवती कोही सर्टिफिकेट च्यापेर युरोप अस्ट्रेलिया छिरे, कोही घरजग्गाको पूर्जा साहुलाई बुझाएर गरेको तमसुक बोकेर खाडी पसे । हातखुट्टा गलिसकेका बुढाबुढी सकीनसकी खनजोत र खेतीपाती गर्छन् । तर बाँझो राखे जरिबाना लिन्छु भन्ने सरकार खनजोत भैसकेको ठाउँमा मल दिन सक्दैन । न बाँझो जमिन राखेर सुख छ, न खनजोत गरेर । तल भुइँमा बसेर वार न पारको यस्तो जिन्दगी भोग्नुभन्दा बिजुलीको टावर चढेर तारमा पिङ खेल्न मन लाग्दैन त ?

दुःख खेतबारीको मात्रै हो र, भकारीसम्म उस्तै छ । भकारीमा रहेको धान र हार लगाएको मकैमा पसेर मुसाले हैरान त पारेकै थियो । घरको चोटाकोठामा कुदेर, अन्नबाली र लुगाफाटा काटेर सखाप पार्ने मुसोले मन्त्रालयतिर पनि उसैगरी हैरानी पारेछ । मन्त्रालयका कर्मचारीले लेखेको बजेटको किताब मुसाले धुजाधुजा पारेछ । अनि मुसोले जस्तो भन्यो त्यस्तै खालको बजेट बाहिर आएछ । अर्थात बजेटमा समेत मुसो आतङ्क छाएछ । बिजुलीको तार काटेझैँ करको दर छिन्नभिन्न पार्ने मुसो प्रवृत्तिको कुरो सुनेर तपाईँको दिमागको तार खलबलिएन ?