एउटा लिखुरे केटा अल नेपाल ठग्स फेमिर्ली ‘एएनटीफ’ को स्टेज चढ्छ, माइक हातमा लिन्छ, Swag सहित र्‍याप ब्याटल खेल्न थाल्छ।

पहिलो चरणमा र्‍यापर सिरूपातेलाई फ्री स्टाइलमा नै उसले भनिदिन्छ ‘गलत काम गरेर आमाबुबा रूवाको…’ अनि अर्को चरणमा अर्को प्रतिश्पर्धी र्‍यापर सिक्सनेमलाई ठूलो झट्का हानिदिन्छ- म हुँदा हुँदै जित्न लम्किरा’छ लम्कि यसलाई जन्माउन वाउआमाको गल्ती भाछ गल्ती वाउआमाले यसलाई राम्रो संस्कार किन देन हजुरबाट पनि गल्ती भाछ अन्टि सुधार्नु हुन्छ होला गल्ती कहाँ छ भन्दि……..।।

यो चोटिलो प्रहार थियो। यो प्रहारमा सायद उसको मनको पीडा, कुण्ठा, गुनासो, आवेग सबै थियो। लाग्थ्यो यो उसले सिक्सनेमको लागि होइन आफ्नै लागि लेखिरहेको थियो। ऊ यत्तिक्कैमा रोकिएन घरी ऊ ‘कति सुन्छस् कमल वाउआमाको किचकिच’ भनेर उफ्रन्थ्यो त घरी ‘गलत काम गरेर आमाबुबा रूवाको’ भनेर भावुक हुन्थ्यो। हुँदाहुँदै उसले एउटा पंक्तिमा भनिदियो- ‘छोरा चाँहि र्‍याप हान्छ रे, विदेशमा वाउले भाडा।’

अनि एउटा चरणमा त प्रतिश्पर्धी र्‍यापर माईलालाई निस्फिक्र भनिदिन्छ, ‘मिलेन लेबल तेरो वाउ बोला ए, खाए त गाँजा आफ्नो वाउको खाएँ।’

त्यसपछि जेठ महिनाको रापिलो घाम जसरी उसको उदय हुन्छ। उसैले भनेको जस्तै ‘कलाको म धनी म, खतरा हो पनि अत्ति’, मानिसहरुले उसको कलाको प्रसंशा गर्न थाल्छन्।

नेपालमा एउटा खतरा र्‍यापरको उदयका रूपमा उसलाई लिन थालिन्छ। उसको हरेक शब्द र पंक्तिले ऊ स्वयमको, उसकै प्रतिश्पर्धी, निर्णायकदेखि आम मानिसको भाषा, व्यथा र्‍यापबाट बोलेको भनेर उसलाई सबैले स्नेह पनि गर्न थाल्छन्।

त्यसपछि उसको नाम, उसको चोटिला र्‍यापको पंक्तिहरू यत्रतत्र गुन्जिन थाल्छ। एकाएक सुदीप भण्डारी अर्थात् जी–बबको चर्चा हिउँको थुप्रोसरी चुलिन थाल्छ। देश विदेशमा कार्यक्रम गर्न उसलाई भ्याइनभ्याइ हुन्छ। फिल्मदेखि म्युजिक भिडियोको निर्देशकले उसलाई साइन गर्न तछाडमछाड गर्छन्।

जी–बबको कहानी यतिकैमा सकिँदैन। जी–बब एकसुरे भइरहेको बेला उसको आमाबुबालाई पीर पर्न थाल्छ। छोराको प्रगतिमा गदगद पनि भइरहेको बेला उसको स्टेजमा देखिएका र नदेखिएका केही आचरण र हर्कतले पीर दिन थाल्छ। प्रकाश सपूतले भनेको जस्तै ‘तिम्रो मोयाले मोलाई पीर दियो।’

त्यही माथि भर्खरै पञ्जावको चर्चित र्‍यापर सिद्दु मुसेवालालाई गोली हानेर मारेको सुनेको छ। केही वर्ष अगाडि नेपालका चर्चित र्‍यापरले आत्महत्या गरेको सुनेको छ। अरू पनि नेपाली र्‍याप गायकहरु ड्रग्सको ओभरडोजले घरमै, ट्वाईलेटमा वा सडकको पेटीमा मरिरहेको सुनेको छ।

१) जी–बकको बाल मनोविज्ञानः जी–बबको भनाइ अनुसार ऊ कहिले पनि बुबासँग बसेन। ऊ एक कक्षा हुँदादेखि नै बुबा विदेश जानुभएको। त्यसो त उसले आमासँग पनि त धेरै समय बिताउन पाएन। एघार बजे आमा अफिस जाने अनि साँझ गेटको आवाज आएपछि वा घरमा हल्ला भएपछि आमा आइछन् भन्ने थाहा हुने भयो।

यदि उसको कुरा सत्य हो भने ऊ सानैदेखि नै स्वतन्त्र रूपले बाँचिरहेको रहेछ। बुबा विदेश जानु र आमाले जागिर खानुको बाध्यततालाई एकछिन पन्छ्याएर हेर्ने हो भने जी–बबलाई सानैदेखि नै स्वतन्त्रसँग बाँच्न, एक्लै समय बिताउन, एक्लै निर्णय लिने परिवेश सृजना गरेको देखिन्छ र उसको वाल मनोविज्ञान पनि यसरी नै बन्दै गयो। त्यसैले पनि संयुक्त परिवारमा वच्चा हुर्कन कति फाइदा हुन्छ र बुबाआमाले सन्तानलाई आफ्नो निगरानीमा राखेन भने कस्तो परिणाम आउँछ भन्ने एउटा उदाहरण हो।