काठमाडौं, २७ जेठ ।

चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् ।

गैरीबारी रिसोर्ट तर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही कारको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ५५ बर्षीया राधिका बोटेको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

हिजो साँझ पौने ६ बजे भएको सवारी दुर्घटनामा संलग्न कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

कोटेश्वरमा एक युवतीकाे मृत्यु

कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडीबुटीतिरै गइरहेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा राई सख्त घाइते भएकी थिइन् ।

महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।