काठमाडौं, जेठ २८ –

नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ‘ए’ प्रशारण लाइनबाट उद्धार गरिएका पुरुष अहिले ककनी प्रहरी कार्यालयमा छन् ।

बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षका माइला विकले शनिवार विहान ९ बजेबाट विद्युत प्रशारण लाइनमा पोलमा चढ्ने प्रयास गरेका थिए । मध्यान्ह १ बजे हाइटेन्सन लाइनमा झुण्डिएर हिँड्न थालेपछि नेपाली सेनाले उनलाई सकुशल उद्धार गरेको छ ।

स्थानीयहरुका अनुसार मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले हेलाहोँचो गर्दै आएका छन् । माइला करिब ८ महिनादेखि परिवारको बेवास्ता र आर्थिक अभावमा थिए ।

उद्धारपछि प्रहरीको संरक्षणमा रहेका विकलाई काठमाडौं पठाउन लागिएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । विकलाई राहत र उद्धारको काम गर्दै आएको काठमाडौंको तार्केश्वरमा अवस्थित ‘नवजिवन’ संस्थाको संरक्षणमा राख्न लागिएको छ ।

बिजुलीको पोलबाट तारमा चढ्न थालेपछि स्थानीयको सूचनाका आधारमा विद्युत प्राधिकरणले सो क्षेत्रमा विद्युतको लाइन काटेको थियो ।