मुखको क्यान्सर भनेको मुखका अंग, तन्तुको कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हो। हटाउँदा पनि कुनै कोषको आकार–प्रकारमा वृद्धि भइरह्यो र घाउ खटिरा २-३ हप्तासम्म पनि निको भएन भने मुखको क्यान्सर हो कि भनी शंकाको घेरामा राखेर तुरुन्त विशेषज्ञ सेवा लिनुपर्दछ।

क्यान्सर एउटा रोगमात्र नभई, रोगहरुको समूह हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग होइन तर एउटै व्यक्तिमा एक ठाउँबाट अर्को ठाउँमा, एक अंगबाट अर्को अंगमा भने सर्न सक्छ।

मुखको क्यान्सरको लक्षण यही हो भने किटान गर्न सकिदैंन। तर, सामान्यतः पुरुषमा ५०–६९ वर्षको उमेर तथा महिलामा ४०–४९ वर्षको उमेरमा बढी देखिन्छ।

त्यसैगरी महिलाको तुलनामा पुरुषमा ४ गुनाले बढी तथा गाउँका बासिन्दाभन्दा शहरियामा ६ गुनाले बढी देखिएको छ। सबैभन्दा बढी जिब्रोको, त्यसपछि गिजा, गाला, जिब्रो मुनीको भाग आदिमा क्यान्सर देखिने गरेको छ।

यादव, महतो, तामाङ, गुरुङ र नेवारमा बढी क्यान्सर देखिएको पाइएको छ। स्मरणीय के छ भने क्यान्सरले कुनै पनि जात, धर्म, उमेर, वंश, लिंग र ठाउँका व्यक्तिलाई छाड्दैन।

मुखमा रातो खैरो, सेतो वा मिश्रित दाग, धव्वा वा पत्र देखिन्छ जुन दल्दा जाँदैन । नदुख्ने वा दुख्ने घाउखटिरा वा सुजन २–३ हप्तासम्म उपचार गर्दा पनि निको हुँदैन ।
मसलादार खाना खाँदा पोल्छ, छाम्दा सारो हुन्छ र दुर्गन्ध आउछ। घाउखटिरा वा सुजनको आकार बढ्दै जान्छ।

-याल बढी आउछ।

-दाँत बिना कारण झर्छन्।

-स्वाद फरक पर्छ।

-खान, निल्न, पिउन अप्ठेरो हुन्छ।

त्यसपछि

-घाउ, खटिरा, तलको तन्तुसंग टाँसिन्छ।

-लामो समयसम्म निल्न गाह्रो हुन्छ।

-जिब्रो जाम भई चलाउन मिल्दैन ।

– जिब्रो, मुख सुन्निन्छ।

– सुन्निएको गाठो घाउ वा पत्र वा फिसर र फोल्डको रूपमा आउँछ ।

-अस्वाभाविक रक्तश्राव हुन्छ।

-घाउखटिरा वरीपरी बाक्लो र मोटो हुन्छ।

-घाँटीमा गिर्खा देखापर्छन्।

क्यान्सर लागिसकेपछि ब्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पता हुने, प्यारानियोब्लस्टीक सिन्ड्रोम हुदै सिकिस्त हुन्छ र मृत्यु हुन्छ।

माथि भनिएका लक्षण तथा चिन्हले मुखको क्यान्सर भएको शंका उत्पन्न गरेपनि निदान भने उक्त घाउखटीरा वा सुजनबाट लिएको मासुरश्रावद्वारा नै गर्ने गरिन्छ जसलाई हामी बायोप्सी भन्ने गर्छौ।