काठमाडौं, जेठ २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा मिटरब्याज धन्दा चलाएर विपन्न नागरिकको उठीवास लगाएका रामदेव तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन्।

आज बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँणलाई बोलाएर प्रधानमन्त्री देउवाले सो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। मिटरब्याजी तेलीका कारण सप्तरीका नागरिकहरु सुकुम्बासी बनेको विषयमा बिहीबार र शुक्रबारको संसदमा समेत उठेको थियो।

सप्तरीको खडक नगरपालिकाको कल्याणपूर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीले डेढ दशकदेखि मिटरब्याज धन्दा चलाएर सर्वसाधरणबाट अवैधानिक रुपमा करोडौं असुलेको र घरखेत समेत बन्धकी राखेर फिर्ता नदिएको सार्वजनिक भइरहेको छ।

पीडितले प्रहरीमा उजुरी दिएपनि पक्राउ नपरेपछि शुक्रबार प्रधानमन्त्री आफैले घटनामा ध्यानाकर्षण जनाउँदै पीडकलाई तत्काल पक्राउ गरेर अनुसन्धान र कारवाही प्रकृया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्। पीडक तेली हाल धरान उपमहानगरपालिका–१९ धनकुटे चोकमा बस्दै आएको बताइएको छ।

गृहले भन्यो- मिटर ब्याजमा पैसा दिने, त्यसबापत ठूलो रकम ब्याज असुल गरे जानकारी गराउनू, गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

उनका अनुसार मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत उल्लेख छ।

मन्त्रालयले कानून विपरीतका क्रियाकलाप नगर्न पनि सुझाव दिएको छ। यस्तै, मन्त्रालयले त्यस्ता गतिविधिहरू भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध समेत गरेको छ।