काठमाडौं । अन्त जहाँसुकै जिते पनि राजधानीमा हारेका कारण राजनीतिक दलहरूले सर्वस्व हारेको अनुभूत गरेका छन् । उनीहरूलाई थाहा छ, स्वतन्त्र उम्मेदवार बालेन साहको जितले दलका दम्भी नेताहरू दाबी गर्ने गरिएजस्तो लोकप्रिय नभएको प्रमाणित भएको छ । पद, पावर र पैसाको बलमा मत पाइन्छ भन्ने आडम्बर चकनाचूर भएको छ । उनीहरूको असफलताका प्रमाण बनेर काठमाडौंमा बालेन साह, धरानमा हर्क साम्पाङ राई, जनकपुरमा मनोजकुमार साह र धनगढीमा गोपाल हमाल उभिएका छन् । दलले जनतालाई ढाँटेको जीवित प्रमाण अगाडि उभिएको देख्दा त्यसका आडम्बरी नेताहरू बौलाएका छन् ।

जनताको अमूल्य मतको सम्मान गर्दै नेताहरूले स्वतन्त्र बनेर विजय हासिल गरेका बालेन–हर्कहरूसँग सहकार्य गर्ने, उनीहरूलाई सघाउने र सफल पार्ने सोच राख्नुपर्ने थियो । तर, स्वतन्त्र जनप्रतिका कदम–कदममा खाल्डो खन्ने दुस्प्रयास उनीहरूबाट हुँदै छ । हिजो, बालेन–हर्कहरूको जमानत जफत हुन्छ, जिते भने नाङ्गै सडकमा दौडिन्छु, देश छोड्छुजस्ता दम्भी टिप्पणी गर्नेहरू यतिखेर ‘भेडाबाख्राको भोटले जितेको’ भनेर होच्याउन थालेका छन् । उनीहरूलाई भोट दिए सज्जन मानव हुने नदिए भेडाबाख्राजस्ता जनावर हुने विवेकहीन तर्क गर्न उनीहरूलाई लाज लागेन ।

अहिले उनीहरू ‘स्वतन्त्रहरू काम गर्न नसकेरबीचमै राजीनामा दिएर रुँदै हिँड्छन्’ भन्न थालेका छन् । यी यस्ता अभिव्यक्ति हुन् जसले दलका दम्भी नेता र कार्यकर्ताहरूको छातीभित्र बलेको ज्वाला देखाउँछ । उनीहरू साँच्चिकै मर्माहत भएका छन्– आफ्नो पराजय भएकोमा भन्दा पनि स्वतन्त्र उम्मेदवार जसले कसैलाई गाली नगरी चुनाव जितिदियो । दिनरात एक–आपसमा तुच्छ गाली र आरोप लगाएर नथाक्ने दलका नेताका प्रिय पात्रहरू स्थानीय निर्वाचनमा पराजित भए । कसैलाई गाली नगर्नेहरूले जिते । दलका नेताहरूको गालीगलौज शैली त पराजित भयो नि ।