पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीनको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडीमा ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक मोहन र स्कुटरको पछाडि सवार दुईको मृत्यु भएको हो ।

उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना भएको हो । उनीहरुको मृत्यु ६ः५५ बजे भएको प्रहरीले जनाएको छ ।

गीतानगरका मानबहादुर अधिकारी स्कुटरमा छोरी र भतिजीलाई लिएर खाना खान दाइको घर जगतपुर जाँदै थिए।पकौडी बजारनजिकै एउटा मोडमा विपरीत दिशाबाट आइरहेको बससँग मानबहादुरले चलाएको स्कुटर ठोक्कियो। दुर्घटनामा मानबहादुर र उनीसँग रहेकी १७ वर्षीया छोरी विनिसा र १७ वर्षीया भतिजी दिविसाको मृत्यु भयो।

सेतो पाटीका अनुसार गीतानगरमा किराना पसल चलाउने मानबहादुरसँगै गत वर्षमात्रै एसईई उत्तीर्ण गरेर नर्सिङको पढाइ सुरू गरेकी विनिसा र जगतपुरमा रहेको लक्ष्मी माविमा कक्षा ११ पढ्दै गरेकी दिविसाले दुर्घटनामा ज्यान गुमाए। मानबहादुरको आफ्नै बोलेरो गाडी थियो। उनी आफैं त्यो गाडी पनि चलाउँथे।

‘भाउजु भ्रमणका लागि चरिकोट जानुभएको थियो, उहाँको परिवार खाना खान दाइको घरतर्फ जाँदै गर्दा दुर्घटना भएछ,’ मृतकका आफन्त दीपक दवाडीले भने, ‘भतिज पनि सँगै थिए उनी कटिहालेछन्, दुबैतर्फ खाल्डो भएको साँघुरो मोडमा उहाँहरूले जोगिने ठाउँ पनि पाउनुभएन।’जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार चितवनको सडकमा पछिल्लो समयमा भइरहेका सवारी दुर्घटनामध्ये यो दुर्घटना भयानक हो।