गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त फेसन प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०२१’ को तेस्रो विजेता भएकी छन्। शनिबार साँझ सोल्टी होटल क्राउन प्लाजामा भएको कार्यक्रममा पुरुषमा प्रविण चापागाई र महिलामा अनिशा शाक्य विजेता भएका थिए।

सिजन ६ अन्तर्गत भएकाे प्रतियोगीतामा पुरुषतर्फ मिनाल्ड लामिछाने फस्ट रनरअप र अनुप कार्की सेकेन्ड रनरअप भएका थिए। यस्तै महिलातर्फ श्रीयाश्री श्रेष्ठ फस्ट रनरअप र परितोषिका पन्त सेकेन्ड रनरअप भएकी छन्।

तेस्तै, परितोषिकाका कारण आजसम्म अञ्जुले कुनै तनाव लिनुपरेको छैन । अञ्जु भन्छिन्–‘मलाई चौतर्फी रुपमा तनाव हुँदा पनि छोरीका कारण खुशी मिलेको छ । यसैले पनि मलाई बाँच्ने आधार मिलेको छ ।’

परितोषिका मोडलिङ गर्ने र नायिका बन्ने सोचका साथ अगाडि बढेकी छन् । उनलाई नायिका बनाउनका लागि निर्माता–निर्देशक अञ्जुको घरसम्म पुगेका छन् । अब भने अञ्जु छोरीलाई कला क्षेत्रमा ल्याउने तयारीमा लागेकी छिन् ।

अञ्जु पन्तको स्वर आफैंमा ‘भगवानको उपहार’ हो भनिन्छ । तर, छोरी गायन क्षेत्रमा आउने सोचमा छैनन् । किन उनले गायिका नबन्ने सोच राखेकी होलिन् ? परितोषिका भन्छिन्–‘मेरो गीत गाउने रहर मात्र हो । म ममीको सफलतालाई भेट्न सक्दिनँ । उहाँ जस्तो दोश्रो कोही जन्मिन्छ भन्ने मलाई लाग्दैन। यसैले पनि रहरका लागि मात्र आउनु भन्दा नआउनु नै ठीक लाग्यो । म मोडलिङमा नै केही गर्छु ।’