अष्ट्रेलिया : नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आउनुभएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा यो ‘स्टुडेन्ट टक’ शुरु गरिएको हो। यस अन्तर्गत आज हामीले काठमाडौंको गल्फुटार स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका शिशिर ज्ञवालीसंगको कुराकानी समावेस गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०१६ मा आएको हूँ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
मास्टर्स लेभल सकेर आएको हूँ।

कुन विषय पढ्नको लागि अष्ट्रेलिया आउनुभएको थियो ?
नेपालमा रहँदा जन प्रशासनमा मास्टर्स गरें। यहाँ चाहिं आइटिमा आफ्नो पढाइ अगाडी बढाउनुपर्यो भनेर आएको हूँ ।

कुन युनिभर्सिटीमा पढ्नुभयो ?
मैले स्विनबर्न युनिभर्सिटीमा पढें।

पढाइ तथा काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
गेम हेर्ने, गीत सुन्ने अनि मुभी हेर्ने, यस्तै ……।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?

धेरै फरक हुन्छ। मेहनत गर्न परे गरिन्छ भन्दै आइन्छ, तर यहाँ आएपछि वातवरण एकदमै फरक हुन्छ। मेहनत गरेर मात्र हुँदैन। मानसिक रुपमा बलियो बन्नुपर्छ। एक्लै उभिन तयार भएर आउनुपर्छ। यहाँ आफन्त पनि पराई हुन्छन्।

काम पाउन कत्तिको गाह्रो भयो ?
मलाई त काम पाउन खासै गाह्रो भएन। सजिलै भयो। एक हप्तामा नै काम पाएँ।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन् ?
मेहनत गर्न सक्ने हो भने यहाँ आएर ‘ग्रो’ हुन सकिन्छ। करियर राम्रो बनाउन सकिन्छ। यहाँ आएर गरिने मेहनत, पाइने स्वतन्त्रता, आत्मनिर्भरताले ‘पर्फेक्ट’ बनिन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?

धेरै स्वतन्त्रता हुने हुनाले मान्छे बिग्रने डर हुन्छ। कसैमाथि पनि भरोसा गर्न सकिँदैन। रिलेसनशिप समेत टिक्दैन। विवाह भएकाहरुको पनि डिभोर्स हुन्छ। परिवार, साथीहरुलाई समय दिन गाह्रो हुन्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?

समय कुनै पनि बेला परिवर्तन हुनसक्छ र त्यसको लागि आफूलाई तयार पार्नुपर्छ भन्ने सिकायो। एक दिन गाडी पार्किङ्ग गरेर भित्र गएँ। त्यहाँ नो पार्किङ्ग भनेको या कुनै त्यस्तो सुचना थिएन।

तर बाहिर निस्किँदा जरिवाना तिर्नुपर्यो। नतिरे, अदालत पुग्नुपर्छ। फोकटमा पैसा तिर्नुपर्यो। त्यस्तै, कहिले तलब ह्वात्तै बढ्छ, कहिले ह्वात्तै घट्छ।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?

मेहनत गर्नेहरुका लागि अष्ट्रेलिया धेरै राम्रो देश हो। यहाँ अवसर धेरै छन्। आफ्नो भावनालाई कन्ट्रोल गर्न सक्ने भएर र योजना बनाएर आउनुपर्छ।

केही विद्यार्थी, अझ त्यसमा पनि नर्सहरु यहाँ आइसकेपछि अलि बढी घमण्ड देखाएको पनि लाग्छ मलाई। त्यस्तो गर्नु हुन्न, सिक्दै अगाडी बढ्ने गर्नुपर्छ। गल्तीहरुलाई पनि सिक्ने अवसरको रुपमा लिनुपर्छ।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?

अष्ट्रेलिया आउन पाउने भन्दैमा आफ्ना छोराछोरीको बिहे गरिदिएर नपठाउनुस्। आफ्ना छोराछोरी भावनात्मक रुपले र मानिसक रुपले बलियो बनेपछि, जीवनमा आउनसक्ने समस्या समाधान गर्नसक्ने भएपछि मात्र छोराछोरीलाई अष्ट्रेलिया पठाउनुस्।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?

आफ्नो देशको माया कसलाई लाग्दैन र ! कसलाई आफ्नै देशमा बसुँ भन्ने हुँदैन र ! तर नेपालमा कामको अवसर छैन। काम पाएपनि तलब राम्रो हुँदैन। सुविधा छैन। कामको सम्मान गर्ने बानी छैन।

त्यही अवसर खोज्दै अष्ट्रेलिया आइन्छ। अष्ट्रेलिया आएर पढौं, करियर बनाउँ, अनि नेपाल फर्कने भन्ने सोंचका साथ आइन्छ। तर यहाँको अवसर र सुविधाले नेपालीहरु आकर्षित हुन्छन् र यतै सेटल हुन्छन्। – हिमालयन कंगारु बाट साभार