न्युयोर्कमा आजभरेसम्म फारम भरेर शेर्पा किदुगमा बुझाउनेलाई शनिबार र आईतबार खोप प्रदान गरिने भएको छ । न्युयोर्क हेल्थ एण्ड हस्पीटलका कुनै पनि भ्याक्सिन लोकेशनमा खोप लगाउन सकिने शेर्पा किदुगले जनाएको छ ।

१८ बर्षमाथिका सबैले निशुल्क खोप लगाउन पाउने भएकाले बुधबार बेलुकासम्म नाम, इमेल ठेगाना, फोन नम्बर र फोटो आईडी शेर्पा किदुगको इमेल ठेगानामा पठाए पुग्ने जनाइएको छ । त्यसका लागि [email protected] मा इमेल गर्न वा ७१८ ७७९ ७३०० मा फोन गर्न सकिनेछ । इमेल हेर्नका लागि ब्राउजरमा खोल्नुहोला ।

फुड वितरणमा संलग्न स्वयंसेवकहरुलाई एकैदिनमा खोप पाउन सकिने व्यवस्था गरिएको शेर्पा किदुगले जनाएको छ । खासगरी न्युयोर्कमा रहेका नेपालीहरुलाई लक्ष्यीत गरेर शेर्पा किदुगले सहजिकरण गरेको हो ।

मार्च ३० देखि न्युयोर्कमा ३० बर्षमाथिका सबै व्यक्ति कोरोनाबिरुद्धको भ्याक्सिनका लागि योग्य भइसकेका छन् भने न्युयोर्कमा अप्रिल ६ बाट १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य हुने भएका छन् । यद्यपी भ्याक्सिनको अप्वाइन्टमेन्ट पाउन अझै पनि समस्या रहेको अवस्थामा शेर्पा किदुगले सहयोगी भूमिका खेलेको छ ।

राष्ट्रपति जो बाइडेनले मे १ बाट अमेरिकाभर सबै भ्याक्सिनका लागि योग्य हुने डेडलाइन तय गरेपनि त्यो भन्दा एकमहिना अगाडि नै सबै न्युयोर्कबासीहरु योग्य हुने भएका छन् । आगामी साताहरुमा अन्य राज्यहरुमा पनि भ्याक्सिनका लागि १६ बर्षमाथिका सबै व्यक्ति योग्य हुने भएका छन् ।

न्युयोर्क र न्युजर्सीमा कोरोना संक्रमणको दर बढ्दै गर्दा भ्याक्सिन वितरणपनि तीब्र पारिएको छ । राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरुको एकसय दिनमा २ सय मिलियनलाई भ्याक्सिन वितरण गर्ने नयाँ लक्ष्य तय गरेका छन् ।