अष्ट्रेलिया : नेपालबाट स्टुडेन्ट भिसामा अ’ष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हि’मालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अ’ष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएकी विजया केसीसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
५ वर्ष भयो।

नेपालमा तपाईंको घर कहाँ हो ?
सानोठिमी, भक्तपुरमा हो।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
नेपालमा ब्याचलर लेभल सकेर मास्टर्स पढ्न आएकी हूँ।

कुन विषय पढ्नको लागि अष्ट्रेलिया आउनुभएको थियो ?
मास्टर्स अफ पब्लिक हेल्थ। वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढेकी हूँ।

पढाइ तथा काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्न जान, मान्छेहरुसंग चिनजान गर्न, नयाँ नयाँ कुरा सिक्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?

धेरै फरक अनुभव महसुस गरें। नेपालमा हुँदा परिवारसंग भइन्छ, अनि त्यही अनुसार सोंचिन्छ, योजना बनाइन्छ। तर यहाँ आएपछि एक्लै भइन्छ। कडा मेहनत गर्नुपर्छ। यही अनुभवले गर्दा, आफू केही बन्नुपर्छ भन्ने अठोट पनि जाग्छ।

काम पाउन कत्तिको गाह्रो भयो?
काम सजिलै चाहिं पाइएन। मलाई त एकदमै गाह्रो भयो।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन्?

यहाँको जीवनशैली राम्रो छ। नयाँ नयाँ समुदायका व्यक्तिहरुसंग चिनजान गर्ने अवसर मिल्छ। नयाँ परिवेशका साथीहरु हुन्छन्। नयाँ नयाँ कुराहरु सिक्न सकिन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
साथीहरु भएपनि परिवार टाढा हुने हुँदा एक्लो महसुस हुन्छ। चाडपर्वमा त परिवारलाई अझ धेरै मिस गरिन्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
समग्रमा भन्दा, अष्ट्रेलियाले मलाई आत्मनिर्भर हुन र कडा मेहनत गर्न सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?

योजना बिना अष्ट्रेलिया आएर एकदमै गाह्रो हुन्छ। त्यसैले पहिले सबैकुरा राम्रोसंग बुझेर, आफूलाई मानसिक रुपमा तयार पारेर मात्र आउनुस्। म केही गर्छु, केही बन्छु भन्ने सोंच लिएर आउनुस्।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?

आफ्नो छोरा-छोरीले जे गर्न चाहन्छन् , त्यही गर्न दिनुस्। आफन्त अष्ट्रेलिया आए भन्दैमा छोराछोरीलाई पनि अष्ट्रेलिया आउन दबाब नदिनुस्। अभिभावकले साथ दिएमा नेपालमा नै बसेर पनि उनीहरुले राम्रो गर्न सक्छन्।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

विदेश गएपछि ठूलो भयो, भनिन्छ नि ! यहाँ आएर नेपाली परिवर्तन भएका हुन् कि जस्तो पनि लाग्छ कहिलेकाहीं। नेपाली समुदायमा एक-अर्कालाई सहयोग गरौँ। मिलेर अगाडी बढौं। – हिमालयन कंगारुबाट