एजेन्सी – विश्वकै ठूलो चलचित्र उद्योग मध्ये एक रहेको बलिउड फेसनको पनि नगरी हो। बलिउड कलाकारहरु हरेक चलचित्रमा फरक-फरक फेसनमा देखिने गर्छन्। मुख्य कलाकार मात्र नभई चलचित्रमा देखा पर्ने गरेको फेसनमा विशेष ध्यान राखिन्छ।

यसरी एकै चलचित्रका कलाकारहरु धेरै कपडा(कस्ट्यूम)हरु प्रयोग गर्छन्। यस्तोमा ती कपडाहरु के गरिन्छन् होला भन्ने धेरैलाई लाग्न सक्छ। भारतीय संचार माध्यमहरुका अनुसार कलाकारहरुले प्रयोग गरेका कपडाहरु अन्य विभिन्न प्रयोजनका लागि प्रयोग हुन्छन्। सो सम्बन्धका यहाँ केहि चर्चा हामी गर्दैछौं।

अन्य चलचित्रहरुमा हुन्छन् प्रयोग

प्रोडक्शन हाउसहरुले चलचित्रमा कलाकारहरुलाई आकर्षक बनाउन कपडामा धेरै पैसा खर्च गरेका हुन्छन्। चलचित्रको छायाँकन पश्चात ती कपडाहरुलाई सम्हालेर राखिन्छ। ती कपडाहरु अन्य चलचित्रहरुमा प्रयोग गरिन्छ। साना भूमिका निभाउने कलाकारहरु तथा ब्याकग्राउण्ड डान्सरहरुलाई अन्य चलचित्रहरुमा कपडा प्रयोग गर्न दिइन्छ। साथै ती कपडाहरु टेलिभिजन कार्यक्रमहरु र अन्य स्टेज कार्यक्रमहरुमा पनि प्रयोगका लागि पठाइन्छन्।

कपडामा गरिन्छ बदलाव

एक चलचित्रमा प्रयोग भइसकेपछि केहि कपडाहरु परिमार्जनको लागि पनि पठाइन्छन्। ती कपडाहरु पहिला अन्य चलचित्रमा प्रयोग भएका थिए भन्ने थाहा नहुने गरी परिमार्जन गरिने गरिएको बलिउडका कस्ट्यूम डिजाइनरहरु बताउँछन्।

लिलाम गरिन्छ

बलिउड कलाकारहरुको राम्रो क्रेज रहेका कारण केहि कपडाहरु लिलामीमा पनि राखिन्छ। नाम चलेका कलाकारहरुका कपडाहरु महँगो मूल्यमा बिक्छन्। केहि वर्ष अगाडी सलमानले एक चलचित्रमा प्रयोग गरेको कपडाहरु लाखौंमा बिकेको खबर आएको थियो। त्यस्तै ‘रोबोट’ फिल्ममा ऐश्वर्या र रजनीकांतले प्रयोग गरेको कस्ट्यूम पनि बेचिएको थियो। यस्तो प्रचलन हलिउडमा पनि वर्षौं देखि चलिआएको छ।

कलाकारले नै लैजान्छन्

चलचित्रमा काम गर्दा प्रयोग गरेको कपडाहरु मन परेको खण्डमा कलाकारहरु आफैंले पनि लैजाने गरेका छन्। चलचित्रमा आफूले निभाएको स्मरणीय वा महत्वपूर्ण भूमिकाको निशानी स्वरूप कलाकारहरुले कस्ट्यूम अनुमति लिएर आफैं लान्छन्। त्यस्तै केहि कलाकारहरुले आफूले प्रयोग गरेका कस्ट्यूमहरुको कलेक्सन नै बनाएका पनि हुन्छन्।