काठमाडौँ – विभिन्न भर्सनमा सार्वजनिक भएर भाइरल भइसकेको ‘फूलबुट्टे सारी’ को कभर भर्सन पनि भाइरल भएको छ। युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले गाएको ‘फूलबुट्टे सारी’ को कभर भर्सन भाइरल भएको हो।

शुक्रबार मात्रै सार्वजनिक भएको उक्त कभर भर्सन युट्युब र टिकटकमा भाइरल भइरहेको छ। भिडियो सहित सार्वजनिक भएको कभर भर्सनमा वियोन्से फाम्सी आफैं देखिएकी छन्।

गीतको कभर भर्सन सुन्ने अधिकांशले वियोन्सेको खुलेर प्रशंसा गरेका छन्। ‘फूलबुट्टे सारी’ को एक भर्सन गाएका वरिष्ठ हाँस्यकलाकार तथा गायक मदन कृष्णले पनि वियोन्सेको प्रशंसा गरेका छन्।

सामाजिक संजाल फेसबुकमा एक पोस्ट राख्दै श्रेष्ठले वियोन्सेको खुलेर प्रशंसा गरेका हुन्। श्रेष्ठले लेखेका छन्,””कति राम्रो, कति मिठो, राम्री पनि कति । सुहाएको पनि उस्तै”

नेपाली गीत संगीतलाई मन पराइदिएका कारण वियोन्सेलाई भेटेरै धन्यवाद दिने चाहना पनि श्रेष्ठले व्यक्त गरेका छन्। उनले लेखेका छन्,”नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन।”

यस अगाडी ‘फूलबुट्टे सारी’ मदन कृष्णसँगै मार्मिक लामा, मिलन अमात्य र आरिष्मा शिवाकोटीको स्वरमा आइसकेको छ।