सुनको मूल्य यो महिनाकै सस्तो भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ८५ हजार ६ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य ८५ हजार १५० कायम भएको छ ।

सोमबार छापावाल सुन ८६ हजार २ सय र तेजावी सुन ८५ हजार ७५० मा कारोबार भएको थियो ।फाल्गुनको पहिलो दिन ९० हजार ८ सय कायम भएको सुनको मूल्य त्यसपछिका दिनहरुमा लगातार घट्दो क्रममा रहेको छ ।आज कायम भएको मूल्य यो महिनाकै सस्तो मूल्य हो । सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ ।

दुई करोड ६१ लाख कित्ता आईपीओ निष्काशनको तयारीमा
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गते आज (शुक्रबार)देखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीयलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले २९ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कुल कित्तामध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १ लाख ४५ हजार सामूहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी २६ लाख ९७ हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म बिक्रीमा रहनेछ ।

पाइपलाइनमा रहेका आईपीओ

अब आईपीओ जारी गर्न ८ कम्पनी पाइपलाइनमा रहेका छन् । यी कम्पनीले जम्मा २ करोड ६१ लाख २ हजार २४० कित्ता शेयर जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यी सबै कम्पनीको आवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा रहेको धितोपत्र बोर्डले जनाएको छ ।

यसमध्ये फागुन २१ गते धितोपत्र बोर्डले साहस ऊर्जा लिमिटेडलाई सबै कागजातहरू पेस गर्न भनेको छ । सो कम्पनीलाई आफ्नो संशोधित योजनासमेत पेस गर्न सेबोनले आदेश दिएको हो । साहस ऊर्जाले एक करोड ५ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

त्यस्तै, सामलिङ पावर कम्पनीले १२ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्ने योजना धितोपत्र बोर्डमा माघ ५ गते पेस गरेकोमा बोर्डले फागुन २ गते थप कागजात माग गरेको थियो । यी कम्पनी बाहेक बुद्धभूमी नेपाल हाइड्रोपावरका १२ लाख कित्ता, मनकामना स्मार्ट लघुवित्तको ३ लाख ८९ हजार कित्ता र जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार ३ सय कित्ता शेयर पनि जारी हुने तयारीमा छन् ।

त्यसैगरि, सयपत्री हाइड्रोपावरको ९ लाख कित्ता, बलेफी हाइड्रोपावरको ३६ लाख ५५ हजार ९४० कित्ता र ग्रिन भेञ्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ताको लागि बोर्डमा आवेदन गरेका हुन् ।

हिमालयन हाइड्रोपावर लिमिटेड र डिस मिडिया नेटवर्क लिमिटेडले आईपीओ जारी गर्न दिएको निवेदन माथि अध्ययन गर्दै सेबोनले पुनरावलोकन र सुझावसहित सो कम्पनीलाई पत्र पठाएको जनाएको छ । हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता र डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्काशन गर्ने तयारी गरेका थिए ।