प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई मासिक तलब र उत्कृष्ट बालविकास शिक्षकलाई १०/१० हजार रुपैयाँका दरले सिधै शिक्षकको खातामा रकम जम्मा गर्नेगरी सामाजिक विकास कार्यालय डडेल्धुराले निर्णय गरेको छ ।

जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा यस्तो कुरा स्पष्ट पारिएको हो । शुक्रबार सामाजिक विकास कार्यालयले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रमबारे गरेको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा यस्तो असन्तुष्टि व्यक्त भएको छ ।

अभिमुखीकरण कार्यक्रममा सहभागी अधिकांश व्यक्तिले कार्यालयको काम कारबाहीबारे असन्तुष्टि जनाए । अरू वर्ष कार्यालयको काम कारबाहीबारे जानकारी नै नहुने भए तापनि यसपालि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेकामा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले धन्यवाद दिए ।

अजयमेरुमा थुप्रै विद्यालयका भवन निर्माणाधीन अवस्थामै छन् । तर, कार्यालय हाम्रो पालिकाका विद्यालयको भौतिक सुधारमा केन्द्रित रहेको जानकारी पाएँ । तर, हामीसँग समन्वय नै गरेनन्’, उनले भने । आवश्यकता अनुसार कार्यक्रम नआउने र योजनाहरूको नाम, ठेगाना स्पष्ट नहुँदा स्थानीय तहमा विवाद हुने गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए ।

सामाजिक विकास कार्यालयमा भूमिगत शैलीमा योजना तथा कार्यक्रम आउने र बजेट तोकेर वितरण हुने गरेको सहभागीको आरोप थियो । सामाजिक विकास कार्यालय डडेल्धुराले आफ्नो पालिकामा कार्यक्रम नै नगरेको भन्दै भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले आक्रोश पोखिन् । उनले भनिन्, ‘विपद्‌मा स्थानीय तहले सबै काम गर्ने । प्रदेश सरकारले सहयोग नै नगर्ने ? विपद्को कारण हाम्रो विद्यालयमा विद्यार्थी विद्यालय जान सक्ने अवस्था नै छैन

कार्यालयका कार्यक्रम योजना भने कुन तवरबाट छनोट हुन्छन् भन्नेमा कार्यालय नै अन्योलमा रहेको छ । मन्त्रालयबाट तोकिएर आएका योजना कार्यालयबाट संचालन हुने कार्यालय प्रमुख बताउँछन् । कार्यक्रमबाट आएका सल्लाह, सुझाव अनि प्रतिक्रियालाई आत्मसात् गर्दै अगाडि बढ्ने कार्यालय प्रमुख गोपालदत्त जोशीले बताए