काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका छन्।शनिबार आफू पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीसँको आफ्नो मायाप्रेम ४८–४९ वर्ष लामो रहेको टिप्पणी गरे।

‘मैले भनेको छु, विधानका आधारमा अगाडि बढौँ । प्रत्येक व्यक्ति कमिटी र संगठनको मातहतमा हुन्छ । केपी कमरेडले त्यो स्वीकार गरे हामी सँगै जाने पक्षमा छौँ । हामी केपी ओलीसँग छुट्टिने पक्षमा छैनौँ’, नेता नेपालले भने, ‘त्यत्रो लामो समयको माया–प्रीति कहाँ एक रातमा छुट्टिन्छ ? केपी ओलीसँगको मेरो माया प्रिति ४८/४९ वर्षको भयो थाहा छ ?’

ओलीले वैठकका लागि फोन गरेको सन्दर्भ उनले पुन कोट्याए । आफू भएको भए फोन गर्नेभन्दा निवासमै पुगेर फकाउने उनको भनाइ थियो।‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेड रुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले भने ।

नेपालले नेकपाको एकता खारेज गराउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाए । फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नामको मुद्दामाथि गरेको फैसलाले नेकपा खारेज भएको थियो । तर उक्त फैसलालाई नेता नेपालले जन्मिसकेको बच्चालाई गर्भमै लैजान भने जस्तै अव्यवहारिक निर्णय भएको टिप्पणी गरे ।