काठमाडौं। एक वृद्धले आफ्नो ८ करोड रुपैयाँ बराबरको सम्पत्तिको एक हिस्सा आफ्नो पुरानो साथीलाई दिन चाहन्छन् । भेर्ने म्याकलिन नामका यी व्यक्ति बेलायतको बर्मिंघमका हुन् र उनलाई २०१८ मा प्रोस्टेट क्यान्स भएको खुलासा भएको हो । अब उनले आफ्नो पुरानो साथी मारलाई खोजीरहेका छन् । म्याकलिनका अनुसार मार फिलिपिन्सका नागरिक हुन् । म्याकलिनले अहिलेसम्म आफ्नो सम्पत्ति नगद र अन्य अचल सम्पत्ति गरी ५ लाख पाउण्ड बनाइसकेका छन् ।

द सनका अनुसार उनी अहिले आफ्नो सम्पत्तिको दश प्रतिशत आफूसँग दशकौं पहिले छुट्टिएका साथीलाई दिन चाहन्छन् । म्याकलिन र मार १९७० को दशकमा मित्र बनेका थिए जतिबेला म्याकलिनले लिबियामा क्रेन अपरेटरको रुपमा काम गर्थे र उनी नियमित रुपमा स्थानीय रेष्टुरेण्टमा जान्थे । त्यही रेष्टुरेन्टमा मारले सेफको रुपमा काम गर्थे । म्याकलिनका अनुसार मारले उनलाई केही बढी तरकारी दिने गर्थे किनकि मारलाई उनी शाकाहारी हुन् भन्ने थाहा भएको थियो ।

लिबियामा रहँदा उनीहरु निकै असल मित्र भएका थिए र एक अर्काको अपार्टमेन्टमा पनि जाने गर्थे । तर, मित्रताकै क्रममा म्याकलिनलाई अर्को देशमा खटाइयो र मारको सम्झौता सकिएपछि उनी फिलिपिन्स फर्किनुपर्यो । म्याकलिनका अनुसार उनका असर मित्रले उनलाई १९८४ मा मनिला आउन निमन्त्रणा दिँदै पत्र लेखेका थिए । तर, म्याकलिनले यो पत्रको जवाफ दिन सकेनन् र यो नै उनले आफ्ना मित्रको तर्फबाट पाएको सबैभन्दा पछिल्लो सन्देश थियो । त्यसयता यी दुई मित्र सम्पर्कविहीन छन् ।

इङल्याण्ड फर्किएपछि म्याकलिनले आफूले जोगाएको पैसा फ्ल्याटमा लगानी गरे जुन सफल भयो । उनले अवकाश पाउँदा उनको सम्पत्ति ५ लाख पाउण्ड पुग्यो । म्याकलिनका अनुसार उनी आफ्नो सम्पत्तिको १० प्रतिशत मारलाई दिन चाहन्छन् किनकि उनी एकमात्र व्यक्ति हुन् जसले वास्तविक रुपमा म्याकलिनको ख्याल गरेका थिए । म्याकलिनले अहिले मारलाई सम्पर्कमा आउन आग्रह गरिरहेका छन् । म्याकलिनले अहिले पनि आफ्ना मित्रलाई खोजीरहेछन् र उनलाई आफू मर्नुभन्दा अगाडि मित्रलाई भेट्न पाउने आशा छ ।