अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैंडहवा-३ लोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। काष्ठ फर्निचर उधोग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

उनीहरूलाई रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं. ३ बाट बिहीबार बिहान १० बजे नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। यता कतारको राजधानी दोहाबाट ३ वटा सुनको बाला लिएर आएका एक युवक त्रिभुवन विमानस्थानमा पक्राउ परेका छन् ।सर्लाही मलंगवा न.पा.वडा नं. ३ स्थायी वतन भएका वर्ष ४१ को मो.मेराज मिकरानी त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन् । कतार एयरवेजको विमानबाट उनी काठमाडौं ‌ओर्लिएपछि चेकचाँजको क्रममा पक्राउ परेको त्रिभुवन विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ ।