काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जाेशीकाे निधन भएकाे छ । मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत जाेशीकाे निधन भएको अस्पताल स्राेतले जनाएको छ । चिकित्सकले जाेशीका परिवारलाई यसबारे जानकारी दिएकाे छ ।

जाेशीको ५७ वर्षको उमेरमा आज निधन भएको हो । वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जाेशीका श्रीमती र एक छाेरी छन् । जाेशीका दाजु राजुराज जाेशी कांग्रेसकाे सक्रिय राजनीतिमा रहेका थिए ।

गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जाेशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित भएका थिए । पहिलाे र दाेस्राे संविधानसभाकाे निर्वाचनमा भने जाेशी साेही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालकाे स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकाे उप मेयरमा निर्वाचित भएका जाेशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए ।

स्वर्गीय जाेशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत थिए ।