ट्रम्पको आप्रवासन रोक अन्त्य भएर २०२१ का डिभी विजेताहरुलाई भिसा दिन सुरु भइसकेको अवस्थामा आगामी मे महिनामा ५१ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् । अप्रिलमा ४५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरु भिसाका लागि योग्य हुनेछन् ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी भिसा बुलेटिन अनुशार मे महिनाका लागि डिभी विजेता नेपालीहरुको कटअफ केस नम्बर उल्लेख गरिएको हो । अहिले ४२ सय सम्म केस नम्बर हुने डिभी विजेताहरुले भिसा पाइरहेका छन् ।

तर कोरोना महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको भिसा जारी गर्ने क्षमता प्रभावित भएका कारण सुरुतिर केस नम्बर हुनेहरुले छिटो भिसा पाइरहेका छन् । अमेरिकी दूतावास काठमाडौंले एकमहिनामा ५ सयसम्म डाइभर्सिटी भिसा जारी गर्नसक्ने क्षमता राख्ने विगतको रेकर्डले देखाएको छ । तर अन्य श्रेणीका पनि भिसा जारी गर्न सुरु गरिएकाले दूतावासले कतिजनालाई भिसा जारी गर्नसक्छ त्यो हेर्न प्रतिक्षा गर्नुपर्ने भएको छ ।

भिसा बुलेटिन अनुशार अप्रिलका लागि कटअफ नम्बर

गत सेप्टेम्बरमा अदालतको आदेशपछि झण्डै ३ साताको अवधिमा झण्डै ४ सय जनालाई भिसा जारी गर्न अमेरिकी दूतावास काठमाडौं सक्षम भएको थियो । मासिक ४ सयको हाराहारीमा डिभी विजेताहरुलाई भिसा जारी गर्न सकेको खण्डमा सेप्टेम्बरसम्म ३५ सयसम्मलाई भिसा जारी गर्न सकिनेछ ।सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको हो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल ४०४ नेपालीहरुपनि अमेरिका आउने क्रम जारी छ । उनीहरुमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।