काठमाडौं । नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निर्णय गरेको छ ।प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गोप्य भेला बोलाएर महाधिवेशन र संगठनका सम्बन्धमा महत्त्वपूर्ण निर्णय लिएपछि एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट भएको हाे।

शुक्रवार साँझ बानेश्वरस्थित एक होटेलमा बसेको आकस्मिक बैठकमा समानान्तर संगठन बनाएर अघि बढ्ने विषयमा खनाल-नेपाल समूहले छलफल गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो।

शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए। ‘ जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ उनले भने, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो।’

छलफलको बीचमा बाहिरिएका नेता भीम रावलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीको कदमलाई प्रतिवाद गरेर अघि जाने निष्कर्ष निकालिएको बताए।

ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ। छलफलमा सहभागी एक नेताले भने, ‘अब समानान्तर कमिटी बनाएर अघि बढ्नुको विकल्प देखिएन। ओलीको स्वेच्छाचारिताले हद नाघेको छ।’ उनका अनुसार समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ। ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’